Kathmandu Press

खराब मौसमले चार दिनदेखि आन्तरिक उडान प्रभावित

काठमाडाैं, चैत २६ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित भएको छ।अन्तर्राष्ट्रिय उडान नियमित हुँदै आए पनि आन्तरिक उडान भने चार...
खराब मौसमले चार दिनदेखि आन्तरिक उडान प्रभावित

काठमाडाैं, चैत २६ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित भएको छ।

अन्तर्राष्ट्रिय उडान नियमित हुँदै आए पनि आन्तरिक उडान भने चार दिनदेखि प्रभावित भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही संख्यामा प्रभावित भएको जानकारी दिए। विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ।

यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः चैत २३ गते मंगलबारदेखि उडान प्रभावित भएको हो। काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा १ सय १२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनुका साथै पाँच उडान मर्ज गरिएको थियो ।

यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी ९ हजार ८ सय २४ यात्रुले हवाई यात्रा गरेका छन् । बुद्ध एयरका सात, यती एयरलाइन्सका चार र सीता एयरको एक उडान रद्द भएका हुन्।

यस्तै गत मंगलबार आन्तरिकतर्फ १ सय १८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरका १५, यती एयरलाइन्सका ६, समिट एयरका तीन, सौर्य एयरलाइन्सका दुई तथा तारा एयरको समान एक-एक उडान भए। सबै उडानमार्फत ८ हजार ६ सय ८७ यात्रु आवतजावत गरेका छन्।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन्। उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ। बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, तारा एयरको दुई तथा श्री एयरलाइन्स र सीता एयरको समान एक-एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।

तीन दिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा आज काठमाडौंको आकाश केही मात्रामा खुलेको छ। बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए।

उनका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ। पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन्।

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्