बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतको आदेश, शान्तिपूर्ण रुपमा मनाउने नगरपालिकाको निर्णय
काठमाडौं, चैत २५ : भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।कोरोना भाइरसको सङ्क्रमण...
काठमाडौं, चैत २५ : भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो।
केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेपछि जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको हो। जात्रा सञ्चालन गर्दा हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउँदा हुने भीडले कोरोना सङ्क्रमण फैलाउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ।
भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो। जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम हिजोदेखि नै रोकेको थियो।
यसैबीच भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने भएको छ। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।।
विगतका दिनदेखि नै भक्तपुरले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले यसवर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताए ।











-1784031842.jpg)