Kathmandu Press

लिङ्गकै आधारमा त्रिविको रजिष्ट्रेसन फारम भर्नबाट बञ्चित भइन् कपाली

काठमाडौं, जेठ २५ : रुक्सना कपाली गत वर्ष त्रिचन्द्र कलेजमा स्नातक पहिलो वर्षमा भर्ना भइन्। तर, उनको उच्च शिक्षा आर्जन गर्ने चाहनामा एक वर्ष नपुग्....

लिङ्गकै आधारमा त्रिविको रजिष्ट्रेसन फारम भर्नबाट बञ्चित भइन् कपाली

काठमाडौं, जेठ २५ : रुक्सना कपाली गत वर्ष त्रिचन्द्र कलेजमा स्नातक पहिलो वर्षमा भर्ना भइन्। तर, उनको उच्च शिक्षा आर्जन गर्ने चाहनामा एक वर्ष नपुग्दै बाधा आइपर्‍यो। त्यसपछि भने कपाली निरास बनेकी छिन्।

स्नातक पहिलो वर्षको रजिष्ट्रेसन फारम भर्नबाटै उनी बञ्चित भइन्। त्रिभुवन विश्व विद्यालयले कानून नै नभएको भन्दै उनलाई फारम भर्नबाट बञ्चित गरायो। रुक्सनाले २०७१ सालमा प्रवेशिका परीक्षा पास परेकी हुन्। अर्थात त्यतिबेलासम्म उनी केटाको नामबाट चिनिन्थिन्।

उनले कक्षा ९ मा पढ्दा आफू पारलिङ्गी भएको थाहा पाएपछि नाम परिवर्तन गर्न खोजिन्। तर स्कूलले उनलाई धम्की नै दियो।  तितो अनुभव काठमाडौं प्रेससँग साट्दै कपाली भन्छिन्, ‘आफू पारलिङ्गी महिला भएको कक्षा ९ मा पढ्दा नै थाहा पाइसकेकी थिएँ। नाम परिवर्तन गर्न खोज्दा प्रिन्सिपलले स्कुलको बद्नाम गराउन खोजे रेस्टिकेट गर्ने धम्की दिएपछि म चुपचाप भएँ।’

उनले कक्षा ११ मा भर्ना हुँदा भने आफ्नो नाम परिवर्तन गरी रुक्सना कपाली राख्न सफल भइन्। उनले नागरिकतामा पनि आफ्नो नाम रुक्सना नै राखेकी छिन्। तर, जब उनी स्नातक पढ्नका लागि त्रिचन्द्र क्याम्पस पुगिन्। उनको नाममा फेरि समस्या देखियो। जसका कारण पढाइ नै रोक्नुपर्ने बाध्यतामा आइपरेको छ। उनले भनिन्, ‘उत्साहका साथ जब मैले ब्याचलर्समा भाषा विज्ञान पढ्न भर्ना गरेँ। मलाई रजिष्ट्रेसन फारम भर्नै रोक लगाइयो। अब यो समस्या नसुल्झिदासम्म पढाइ स्टप गर्छु।’

उनले त्रिभुवन विश्व विद्यालयले दुई वटा नामका व्यक्तिलाई रजिष्ट्रेसन फारम भर्न कानूनले नदिएको बताइन्। दुई वटै नामको व्यक्ति एउटै हो भनेर वडाबाट समेत सिफारिस लिइसक्दा पनि एसएलसीका प्रमाणपत्रहरु सच्याउन लिङ्ग नै परिवर्तन भने गर्न दिने कानून नभएको भन्दै आफू अप्ठ्यारोमा परेको उनको भनाइ छ।  

एक व्यक्ति एक पहिचानको प्रावधानअनुसार कुनै पनि व्यक्तिको जन्मदर्तादेखि सबै शैक्षिक प्रमाणपत्रमा नाम थर, जन्ममिति तथा लिङ्ग मिल्नुपर्ने हुन्छ। तर, लिङ्ग र नामथर दुई वटा भएको व्यक्ति एउटै हो भन्ने प्रमाणपत्र वडा कार्यालयले दिएपछि अन्य निकायले सजिलै काम गरिदिने प्रावधान छ। 

यही प्रावधानअनुसार कक्षा १० सम्म स्थापित भएको कानूनी नाम परिवर्तन गर्न समस्या देखिए पनि दुई जना व्यक्ति एउटै हो भन्ने प्रमाण ल्याएर दिएपछि परिवर्तन गर्न समस्या नहुने सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले बताए।

उनले भने, ‘हाम्रो कानूनअनुसार एउटै व्यक्तिको दुई वटा पहिचान हुँदैन। तर, दुई वटा नाम र दुई वटा लिङ्ग भएको व्यक्ति एउटै हो भने प्रमाण ल्याएपछिको कुरा सम्बन्धित व्यक्तिको नियतमा भर पर्छ।’ 
 

*सम्पादन गिरएकाे 

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, जेठ २५, २०७६