तरुण दलको चेतावनी–राधेलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्छौं
काठमाडौं, जेठ २५ : नेपाल तरुण दलले पक्राउ परेका तरुण दलका धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण (राधे) भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन ग....
काठमाडौं, जेठ २५ : नेपाल तरुण दलले पक्राउ परेका तरुण दलका धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण (राधे) भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले धादिङ जिल्ला उपाध्यक्ष भण्डारीलाई कीर्ते कागज बनाएर फसाउन खोजिएको भन्दै तत्काल विनाशर्त रिहा गर्न माग गरेको हो।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले किटानी जाहेरी दिएका भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको आरोप लगाए। उनले भण्डारीलाई सरकारले तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।
बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएका भण्डारीलाई राजनीति प्रतिशोधका कारण फसाउन खोजिएको आरोप लगाए। किटानी जाहेरी दिएका भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा भण्डारीलाई देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्तिविरुद्ध जबरजस्ती प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे।
निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले राजनीतिक आस्थाका आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको आरोप लगाए। उनले भने,‘किटानी जाहेरी दिएका भनिएका जनक मगरले नै घटनामा भण्डारीको संलग्नता छैन भनिरहेका छन्। भण्डारीलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको छ।
गत जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीयलाई धम्क्याएको भन्ने उजुरीका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।






