मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

हेटौंडा, चैत २३ : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी मोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्बाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका-१० का निवासी उनको आज (सोमबार) उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
आइतबार राति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ। उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ।











-1784031842.jpg)