Kathmandu Press

सरकारको नेतृत्व लिन कांग्रेस तयार छ: महामन्त्री कोइराला

गाईघाट, चैत २१ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि...
सरकारको नेतृत्व लिन कांग्रेस तयार छ: महामन्त्री कोइराला

गाईघाट, चैत २१ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन्।

गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश १ को भेलामा उनले भने, 'नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ।'

महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने बताउ। 'पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्‍याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ, तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ,' कोइरालाले भने।

महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए। मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उहाँले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले अहिले देशमा राजनीतिक सङ्कट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने बताए।

कांग्रेसका नेता भीष्मराज आङेम्बेले भने, 'जब–जब देशमा राजनीतिक सङ्कट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ । त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ।' नेपाली काँग्रेसका नेता रामहरि खतीवडा, लक्ष्मी परियार, प्रमिला राईलेलगायतले मुलुकको विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि बोलेका थिए।

 

प्रकाशित मिति: २०:३५ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्