Kathmandu Press

जोमसोम विमानस्थल भोलिदेखि बन्द गरिँदै

जोमसोम, जेठ २४ : मुस्ताङको जोमसोम विमानस्थल भोलिदेखि  १५ दिनका लागि बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्गमा कालोपत्र थप्न (ओभरले) बन्....

जोमसोम विमानस्थल भोलिदेखि बन्द गरिँदै

जोमसोम, जेठ २४ : मुस्ताङको जोमसोम विमानस्थल भोलिदेखि  १५ दिनका लागि बन्द हुने भएको छ।

विमानस्थलको धावनमार्गमा कालोपत्र थप्न (ओभरले) बन्द गरिन लागेको नागरिक उड्डयन प्राधिकरण, जोमसोम कार्यालयले जनाएको छ।

विमानस्थल असार ७ गतेसम्म बन्द रहने कार्यालय प्रमुख भानु कोइरालाले बताए। जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ। तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो। २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो।

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन  प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ। गत असोजमा नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम सुरू गरेको थियो।

हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो। असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए। धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ।

पोखरा–जोमसोम हवाइमार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्। मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल व्यस्त हुन्छ। पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ।

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, जेठ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्