Kathmandu Press

ग्यास सिलिन्डर पड्किँदा सात घाइते, दुई गम्भीर

बारा, जेठ २४ : ग्यास सिलिन्डर पड्किँदा बाराको डुमरवानामा सात जना घाइते भएका छन्। उनीहरूमध्ये दुइको अवस्था गम्भीर रहेको छ।

आज बिहान जीतपुरसिम....

ग्यास सिलिन्डर पड्किँदा सात घाइते, दुई गम्भीर

बारा, जेठ २४ : ग्यास सिलिन्डर पड्किँदा बाराको डुमरवानामा सात जना घाइते भएका छन्। उनीहरूमध्ये दुइको अवस्था गम्भीर रहेको छ।

आज बिहान जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्याउली बजारस्थित नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो।

सिलिन्डर पड्किँदा ६७ वर्षीय नजरमान थिङ, उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ घाइते भएका छन्। त्यस्तै, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि घाइते भएका छन्।

उनीहरूको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको शरीरको विभिन्न भाग जलेको छ।

घाइतेमध्ये ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार, ज्ञानीमायाले रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएकाे थियाे। त्यही बेला आगो सल्काएपछि ग्यास पड्किएको हो।

ज्ञानीमायाले रेगुलेटर जोड्न नसकेपछि परिवारका अन्य सदस्य पनि भान्सामै पसेका थिए। त्यही बेला ग्यास पड्किँएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, जेठ २४, २०७६