आठ दिनपछि उठ्यो काठमाडौं उपत्यकाको फोहोर
काठमाडौं, चैत २१ : काठमाडौं उपत्यकाको फोहोर आठ दिनपछि उठेको छ। शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच सहमति भएपछि शनिबारदेखि फोहोर बिसर्जन गर्न थालिएको...
काठमाडौं, चैत २१ : काठमाडौं उपत्यकाको फोहोर आठ दिनपछि उठेको छ। शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच सहमति भएपछि शनिबारदेखि फोहोर बिसर्जन गर्न थालिएको हो।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो। लामो समयको अवरोधपछि शुक्रबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमत भएका थिए।
प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए। स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो।
प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरे। धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे। छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए।
विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुँदै आएको छ। सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको भए पनि निर्माण कार्य पूरा नहुँदा पटकपटक समस्या आइरहेको छ।











-1784031842.jpg)