गाउँमा आन्तरिक पर्यटक आकर्षित गर्न होमस्टे
तनहुँ, चैत २१ः गाउँगाउँमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ।शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा...
तनहुँ, चैत २१ः गाउँगाउँमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ।
शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होम स्टे सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको बन्दीपुर गाउँपालिकाले जनाएको छ। गाउँपालिका अन्तर्गतका ६ वटा वडामा दश वटा होम स्टे सञ्चालन हुँदै आएका छन्। गाउँपालिका–२ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होम स्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको होम स्टेकी सचिव माया सुनारले बताइन्।
कोरोनाको न्यूनीकरणसँगै होम स्टेमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकोले थप हौसला मिलेको उनले बताइन्। विशेषगरी उक्त होम स्टेमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाटफुट देखिन थालेको सचिव सुनारले बताइन्।
डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताको होम स्टे रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ। बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । वैशाख १ गते देखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको होम स्टे सञ्चालकहरुले बताएका छन्।
गाउँगाउँमा होमस्टे सञ्चालन गर्न थालेपछि महिला होम स्टेमा व्यस्त हुने र पुरुषहरु बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक रुपमा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको होम स्टेकी अध्यक्ष दिलकुमारी रानाले बताइन्।
होम स्टेमा आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित परिकारका खानाको स्वागत गर्नुका साथै कला नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने गरिएको उनले बताइन्।
त्यसैगरी बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको स्थल हो । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी रहेपनि अहिले तीस जना महिला मिलेर होम स्टे सञ्चालन गर्दै आएको रामकोट सामुदायिक होम स्टेकी अध्यक्ष बिहिसरा आलले बताइन्।
होम स्टे सञ्चालन गर्न थालेपछि उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहलमा उल्लेखनीय बढेपछि स्थानीयवासी खुशी हुन थालेका छन् । त्यसक्षेत्रमा जाने मोटरबाटो, बिजुली, खानेपानीलगायतका आधारभूत सेवा विस्तारका काममा प्राथामिकता दिइएको छ।
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलको रुपमा परिचित रहेकोले गाउँबाट शहर झर्ने प्रक्रियालाई रोक्न होम स्टे सञ्चालनको लागि पहल गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। गत वर्षदेखि उक्त स्थानमा होम स्टे सञ्चालनमा ल्याइएको हो।
गाउँका तीस जना महिला मिलेर होम स्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ । गतवर्ष नै होम स्टेको लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु दश लाख विनियोजन गरिसकेको छ।
गाउँमा रहेका मानिसलाई गाउँमै बस्ने वातावरण मिलाउन गाउँपालिकाले होम स्टेका महिलालाई सो सम्बन्धी र पुरुषहरुलाई कालीगढ सम्बन्धी तालीम प्रदान गर्दै आएको छ। गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जनको स्रोत र गाउँगाउँमा विकास निर्माणका काम तीव्रगतिमा हुन थालेपछि बसाइँसराइ गरेका व्यक्ति पनि गाउँ फर्किन थालेका छन्।
नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । शहर बसाइँसराइ गरेकालाई गाउँमा फर्कन आर्कर्षित गर्ने उद्देश्यले गाउँपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको अध्यक्ष थापाले बताए। (रासस)











-1784031842.jpg)