साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

काठमाडौं, चैत २० : साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको पाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (गत साउनलेखि माघ मसान्तसम्म)को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको पाइएको हो।
प्राधिकरणको तथ्याङ्कअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा ६ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन्। पुस महिनामा कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ।
कूल जनसङ्ख्यामध्ये ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ। एक करोड १३ लाख बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको जनाइएको छ।
त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ई–भिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ रहेका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलको रहेका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमको दुई लाख २२ हजार रहेका छन्।
यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडीएसएलका आठ लाख ३७ हजार र एफटीटीएच इन्टरनेट ५७ लाख ६८ हजारभन्दा बढी छन्।











-1784031842.jpg)