हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु, ९९ घाइते
धनगढी, जेठ २४ : हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । हावाहुरी कारण ९९ जना घाइते भएका छन भने कयौं घरमा क्षति पुगेको छ।
....
धनगढी, जेठ २४ : हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । हावाहुरी कारण ९९ जना घाइते भएका छन भने कयौं घरमा क्षति पुगेको छ।
हिजो राति आएको हावाहुरीले कैलालीको गोदावरी नगरपालिका–८ मा टिप्परसँग मोटरसाइकल ठोक्किँदा चालक वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। हावाहुरी चलेका बेला सडक नदेखिएपछि से २१ प ५८२१ नं.को मोटरसाइकल टिप्परसँग ठोक्किएको जनाएको छ।
त्यस्तै, टीकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश डाँगीले बताए।
हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका छन्। घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते छन्।
घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत लगिएको छ। अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ।
तीमध्ये एक जना सख्त घाइते छन्। अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।
ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ।
त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ। जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ। बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ।
हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको गरिएको थियो।






