Kathmandu Press

आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

काठमाडौं, चैत २० : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि...
आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

काठमाडौं, चैत २० : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । 

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने, ‘केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ।’

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ। पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए। उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ।  

यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए। दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ÷साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् । रासस
 

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्