Kathmandu Press

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना शुरु

कञ्चनपुर, चैत २० : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना शुरु

कञ्चनपुर, चैत २० : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए। ‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ’, उनले भने, ‘गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।’ प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ वटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् । 

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ । 
 

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्