Kathmandu Press

‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

काठमाडौं, चैत १९ : सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने जनाउँदै त्यसका लागि दुई देशबीच...
‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

काठमाडौं, चैत १९ : सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने जनाउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको बताएका छन्।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेटमा सापकोटाले नेपाल र इजरायलबीचको ६ दशक पुरानो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा सहकार्य र साझेदारीमा जोड दिए।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट थप प्रयत्न हुने विश्वास व्यक्त गरे।

उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत द्विपक्षीय गतिविधिले परिस्थिति सहज हुनेबित्तिकै गति लिने विश्वास व्यक्त गरे।

इजरायल–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत गोडेरले भूगोलका हिसाबले दुवै देशका साना भए पनि भाषा, संस्कृति र परम्परामा समृद्ध रहेका तथा आपसी सहकार्यका प्रशस्त सम्भावना रहेका बताए।

 

प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्