Kathmandu Press

संसद प्रभावकारी बनाउन माग

काठमाडौं, चैत १८ : पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’ विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन्। उनीहरुले संसद्लाई प्रभावकारी ढंगबाट अगाडि बढाउन...
संसद प्रभावकारी बनाउन माग

काठमाडौं, चैत १८ : पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’ विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन्। उनीहरुले संसद्लाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सरकारसमक्ष माग गरे।  

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे। सांसद डा. डिला सङ्ग्रौला पन्तले कामविहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाइन्। उनले इपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराए।

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीले केहीसमयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे। सांसद बलबहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताए। 

सांसद दिव्यमणि राजभण्डारीले कोभिड-१९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे।

सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौता अनुरुप बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि तदारुकता देखाउन सरकारसँग माग गरिन्। सांसदद्वय बालकृष्ण खाँण र प्रकाश रसाइली ‘स्नेही’ले बागलुङमा हालै कांग्रेस कार्यकर्तामाथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरे।
    
शून्य समयमा बोल्दै सांसदहरु देवेन्द्र कँडेल, दिलकुमारी, देवप्रसाद तिमिल्सिना, नवराज सिलवाल, नारायणप्रसाद खतिवडालगायतले समसामयिक विषयमा सभामुखमार्फत संसद् र सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १६:०३ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्