Kathmandu Press

जनयुद्धका कमजोरीको पनि सामूहिक जिम्मा लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौं, जेठ २३ : नेकपा नेता जनार्दन शर्माले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धको जिम्मेवारी लिन त्यसको एकजना कमाण्डरका हिसाबले आफू तया....

जनयुद्धका कमजोरीको पनि सामूहिक जिम्मा लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौं, जेठ २३ : नेकपा नेता जनार्दन शर्माले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धको जिम्मेवारी लिन त्यसको एकजना कमाण्डरका हिसाबले आफू तयार रहेको बताएका छन् । उनले भने, ‘जनयुद्धका कमीकमजोरीको जिम्मा लिनतत्कालीन माओवादी र कमरेड प्रचण्ड तयार हुनुहुन्छ।’

प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिँदै शर्माले माओवादी सशस्त्र संघर्षकै बलमा देशबाट राजतन्त्रको अन्त्य भएको पनि बताए।

‘परिवर्तनलाई संघीयतालाई संविधानसभालाई अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालमा यसो गर्‍यौंँ भन्ने अनि त्यसपछि आएर जंगल पसेर जनयुद्धले विनाश गरे भन्ने? म जिम्मा लिन चाहन्छु– जनयुुद्ध गरेर यो देशको परिवर्तन गर्ने एउटा त्यसको कमाण्डर म पनि हुँ’, उनले भने, ‘म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु त्यसले दिएका उपलब्धिहरू हासिल भएका परिवर्तनका पक्षहरू राजतन्त्र अन्त्य गरेको कुराहरू आज बिर्सन मिल्छ?’

शर्माले भने, ‘हामी नेपाली यहाँसम्म आइपुग्न विगतका सरकार र शासनमा सहभागी हुँदै आन्दोलनमा नेतृत्व गर्दै आयाृैैँ । आआफ्नो ठाउँमा गरेका कामको जिम्मा लिने इमान्दारिता हुनुपर्छ । कअर्कोलाई दोषारोपण गरेर पानीमाथिको ओभानो भएर सुख पाइँदैन । पानीमा कोही पनि ओभानो हुनसक्दैन।’ 

उनले विगतमा भएका कामको जिम्मा समायावधि हेरेर तत्तत् बेलाका गल्तीको जिम्मा सामूहिक रूपमा लिनुपर्ने पनि बताए । उनले भने, ‘यो एकले अर्कोलाई दोषारोपण गर्ने बेला हैन । उपलब्धि पनि होलान् । आन्दोलन हामीले सामूहिक रूपमा गरेका छौँ।’

‘००७ सालदेखि पछिल्ला मधेश आन्दोलनसम्म आइपुग्दा आन्दोलनको नेतृत्व गरेर परिवर्तनको जो उचाइमा छौँ, त्यसको उपलब्धि सामूहिक रूपमा लिनुपर्छ’, उनले भने, ‘त्यसकारण हिजोका गल्तीहरूलाई एकले अर्कालाई हैन, सामूहिक रुपमा हामीले जिम्मा लिनुपर्छ । उपलब्भि पनि सामूहिक रूपमा लिनुपर्छ।’

विगतमा युरोपमा आएको आर्थिक मन्दीपछि एउटा नयाँ बहस सुरु भएको उल्लेख गर्दै उनले भने, ‘समाजवादी विधिभित्र नयाँ ढंगले कसरी जाने भन्ने बहस सुरु भएको छ । प्रगतिशील पूँजीवादको चर्चा सुरु भएको छ । यो कोही समाजवादीले गरेको चर्चा हैन । जसले विश्वबैंकको नेतृत्व गरेका थिए, जो पूँजीवादका प्रखर प्रवक्ता थिए, तिनैले समाजवादका सकारात्मक पक्षलाई कसरी लागू गर्ने भन्ने अर्थतन्त्र र विकासबारे बहस गरिरहेका छन्।’

 

 

 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, जेठ २३, २०७६