‘पिच गरिसकेपछि फेरि मेलम्चीले सडक खन्ने काम नहोस्’
काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले यो बजेट कार्यान्वयनमा जाँदा पनि विगतमा जस्तै पिच सडक गरेलगत्तै मेलम्चीले खनेक....
काठमाडौं, जेठ २३ : प्रतिनिधिसभाको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले यो बजेट कार्यान्वयनमा जाँदा पनि विगतमा जस्तै पिच सडक गरेलगत्तै मेलम्चीले खनेको जस्तो नहोस् भनी सरकारको ध्यानाकर्षण गरेका छन्।
नेकपा सांसद् दाहालले भने, ‘अहिले पनि काठमाडौंमा पिच गरेको ठाउँमा मेलम्चीले खन्न सुरु गर्ने अवस्था छ । यसलाई बजेटले बोलेको छ । कडाइका साथ लागू होस्।’
दाहालले बजेटले बजेटले आशाको सञ्चार गराएको बताउँदै भने, ‘हिमालदेखि तराइसम्म विकासका संभावना बोकेर यो बजेट आएको छ । विगतका केही विरासत पनि यसले बोकेको छ।’
उनले विगतमा उद्योगधन्दालई निजीकरण गर्ने र उपभोक्तावादमा मुलुकलाई चुर्लुम्म डुबाउने अवस्थाको सिर्जना कसले गर्यो भनेर विपक्षी कांग्रेसमाथि प्रश्न उठाए । ‘उदारीकरणको नाममा राष्ट्रका उद्योगधन्दा विक्री गर्यौँ, उत्पादन घटायौँ । अन्य देशबाट ल्याउने कुरा मात्र बढायौँ । व्यापार घाटा यो वर्षमात्र बढेको हैन । बढ्दै आएको छ ,’ उनले भने।
दाहालले विगत तीन–चार वर्षलाई हेर्दा बजेट राम्रो छ तर कार्यान्वयनमा चुनौती भएको यसपालि पनि कार्यान्वयनको चुनौती रहेको बताए।
उनले बजेटले निकै राम्रो व्यवस्था व्यवस्था गरेको बताउँदै भने, ‘उच्चतहका कर्मचारीसँग कार्यसम्पादन सम्झौता र कार्यसम्पादनको आधारमा मूल्यांकन गर्ने । ९० प्रतिशतभन्दा कम कार्यसम्पादन भएको बाहेक आयोजना प्रमुखको सरुवा नगर्ने । आयोजना प्रमसख निजामति सेवाभन्दा बाहिरबाट प्रतिस्पर्धाको आधारमा गर्ने पनि यो बजेटले व्यवस्था गरेको छ।’
उनले भने, ‘आयोजना बैंकको अभावमा अहिले पनि हाम्रो प्रचलन कस्तो छ भने अहिले पनि अलि ठूलामान्छेतिर ढल्कने विनियोजनको तयारी देखिन्छ । त्यसैले अब आयोजना बैंकको क्षमता वृद्धि गर्ने हो भने यो परम्परा तोड्न पनि सकिन्छ।’
बजेटको ‘हिमाली तथा उच्च पहाडी क्षेत्रमा अर्को आवमा समेत बजेट कार्यान्वयनको निरन्तरता पाउने, नयाँ विकास सहायता नीतिबमोजिम अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने व्यवस्था, ठूला आयोजना कार्यान्वयनको निम्ति छुट्टै कानुनी व्यवस्था, सार्वजनिक खरिद कानूनको संशोधनको व्यवस्था, ठेक्का प्रदानगर्नुपूर्व ठेकेदारको प्राविधिक क्षमता, मानवीय क्षमता र वित्तीय क्षमताको विश्लेषण गर्ने व्यवस्था, निर्माण समपन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले मर्मत संभार गर्नुपर्ने व्यवस्था, अनुगमन, मूल्यांकनलाई प्रविधिमैत्री बनाई नतिजामूलक बनाउने व्यवस्था’ ले कार्यान्यनमा रहेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
दाहालले बजेटको प्रभावकारी कार्यान्वनयका लागि केही सुझाव पनि दिए । ‘कार्याविधि र निर्देशिका लगायत जे तयारी गर्नुपर्ने हो, यो असार महिनाभरि निर्माण गरिसक्नुपर्यो। यसो भए बजेट कार्यान्वयन गर्न सकिन्छ’, उनले भने, ‘साउन १ देखि लागू हुने गरी हरेक महिनाको कार्यतालिका र कार्ययोजना बनाई लागू गर्नुपर्यो । हरेक दिन हप्ता, पाषिम, मासिक कार्यसम्पादन फारम भराई कार्यसम्पादन मूल्यांकनको व्यवस्था गर्नुपर्यो।’
दाहालले वित्तीय र भौतिक प्रगति मासिक रुपमा लक्ष्य निर्धारण गरी गर्नुपर्ने सुझाव दिँदै भने, ‘नयाँ पूर्वाधार बनाउँदा बजेटले बोलेजस्तै सडक, बिजुली, खानेपानी, केवलकार, दूरसञ्चार कार्यक्रमहरू अनिवार्य रूपमा एउटै प्याकेजमा गर्नुपर्ने व्यवस्था गर्नुपर्यो।’






