कर्मचारीकाे तलब र भत्तामा मात्रै एक खर्ब ४३ अर्ब खर्च हुँदै
काठमाडौंं, जेठ २३ : अर्थमन्त्री डा. युवराज खतिवाडले कर्मचारीको लागि तलब, भत्ता र सुविधाका लागि मात्रै आगामी वर्षका लागि एक खर्ब ४३ अर्ब ३४ करोड रुपैया....
काठमाडौंं, जेठ २३ : अर्थमन्त्री डा. युवराज खतिवाडले कर्मचारीको लागि तलब, भत्ता र सुविधाका लागि मात्रै आगामी वर्षका लागि एक खर्ब ४३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेका छन्।
अर्थमन्त्री खतिवाडले कर्मचारीका लागि तलबसहित अन्य डेढ दर्जन भत्ता र कर्मचारीको पोशाकका लागि मात्रै यति धेरै रकम विनियोजन गरेका हुन्।
कर्मचारीको तलबमा मात्रै एक खर्ब सात अर्ब १० करोड रुपैयाँ खर्च हुनेछ भने बाँकी ३६ अर्बभन्दा बढी रकम विभिन्न शीर्षकमा कर्मचारीलाई दिइने भत्तामा खर्च हुनेछ । कर्मचारीको लागि १३ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, महंगी भत्ताका लागि भन्दै सात अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्मचारीले खाद्यन्न भत्ताको रुपमा चार अर्ब १६ करोड पाउने छन् भने औषधी उपचार भत्ताको रुपमा एक अर्ब ७४ करोड रुपैयाँ पाउने छन्। स्थानीय भत्ताको रुपमा एक अर्ब ४० करोड पाउने छन्।
त्यसैगरी, फिल्ड भत्ताको रुपमा दुई करोड, बैठक भत्ताको रुपमा २४ करोड, प्रोत्साहन भत्ताको रुपमा ६८ करोड रुपैयाँ पाउने छन्। ७५ करोड ५० लाख बैदेशिक भत्ताको रुपमा पाउने छन्। अन्य भत्ताको रुपमा चार अर्ब २६ करोड रुपैयाँ खर्च हुनेछ।
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षका लागि १८ र २० प्रतिशत तलव बृद्धि गरेको छ। सरकारले नियुक्ती गरेका पदाधिकारीको भत्ता पनि १९ करोड रुपैयाँ जानेछ । कर्मचारीको समाजिक सुरक्षामा एक अर्ब ७४ करोड रुपैयाँ खर्च हुने भएको छ।






