सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

काठमाडौं, चैत १६ : सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड रुपैयाँ भुक्तानी गरेको छ। विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ।
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ। १ हजार २ सय २६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत २ करोड ५८ लाख ४६ हजार १ सय ५५ रुपैयाँ भुक्तानी भएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई १८ लाख ५० हजार ६ सय २९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट १ सय १७ लाभग्राहीलाई १ करोड ६२ लाख ५५ हजार ७ सय ८१ रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ ।
यही चैत ११ गतेसम्म कोषमा ४ अर्ब ८० करोड योगदान सङ्कलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ।
यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १।४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याइनेछ।
कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ।
१ लाख ९४ हजार श्रमिक सूचीकृत
कोषमा हालसम्म १ लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा बढी वाग्मती प्रदेशबाट १ लाख ४५ हजार ४५२, प्रदेश १ बाट २० हजार ५०, प्रदेश २ बाट १३ हजार ७९५, गण्डकीबाट ७ हजार १५४, लुम्बिनीबाट ६ हजार ८ सय ३९, सुदूरपश्चिमबाट ७ सय ७५ र कर्णालीबाट ४ सय ७० योगदानकर्ता सूचीकृत भएका छन्।
कोषमा आबद्ध हुने रोजगारदाताको सङ्ख्या १३ हजार ६ सय १६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका ९ हजार १ सय, प्रदेश १ का १ हजार ८ सय ६०, लुम्बिनीका १ हजार १ सय ८०, प्रदेश २ का ५ सय ५०, गण्डकीका ६ सय १७, कर्णालीका १ सय ४३ र सुदूरपश्चिमका १ सय ६६ छन्।











-1784031842.jpg)