अरूलाई घोट्टाले लठ्यायो, रेखा थापालाई रंगकै नशा लाग्यो
काठमाडाैमा होलीभन्दा धेरै अगाडि नै लोला हान्ने गरिँदो रहेछ, मलाई त्यो थाहा थिएन । म बाहिर निस्किएकाे थिएँ, त्यत्तिकैमा कसैले पछाडिबाट लोला हान्यो, खासै दुखेन, तर लुगा नै फोहोर भयो । कामले बाहिर हिँडेको म लुगा फोहोर भएपछि बाटैमा बेस्सरी रोएँ।
काठमाडौं, चैत १५ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरूको पर्व होली आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइँदै छ ।
रंगहरूको पर्व होली यो वर्ष भने ‘फिका’ देखिएको छ । कोरोना कहरका कारण विगत वर्षजस्तो सार्वजनिक स्थानमा होलीका कार्यक्रम हुने छैनन्, घरमै साथीभाइबीच सुरक्षित रूपमा होली मनाइँदैछ ।
होलीका विभिन्न कार्यक्रममा सरिक हुँदै दर्शकसँगै रमाइलो गर्ने कलाकारले पनि यसपटक घरमै होली मनाउँदै छन्। दुई वर्षयता खुलेर रंग खेल्न नपाएकी अभिनेत्री रेखा थापा होलीका ती दिन सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छिन्।
यो वर्षको होलीमा भने कोरोनाको पनि केही डर भएकाले साथीभाइ गेट टुगेदर गर्ने, भीडभाड नगरी थोरै ग्रुपमा होली खेल्ने योजना रेखाको छ । उनले सबैलाई स्वास्थ्यको ख्याल गरेर होली मनाउन सल्लाह दिइन् । उनले सबैलाई होलीको शुभकामना दिएकी छन्।
रेखासँग होलीका तीता–मीठा थुप्रै अनुभव छन् । होलीका ती क्षण रेखा जीवनमा कहिल्यै बिर्सन्नन् । प्रत्येक वर्षका होलीले ती यादलाई पुनर्ताजगी गराउँछन्।
रंगले नै झ्याप
चार वर्षअघि रेखाले सुटिङ युनिटसँगै होली मनाइन् । ‘राम प्यारी’ सुटिङ युनिटसँग मनाएको त्यो होली रेखाको सबैभन्दा अविष्मरणीय होली हो।
रेखाकै टिमले आयोजना गरेको ‘होली कार्यक्रम’मा थुप्रै कलाकारको जमघट थियो। त्यहाँ रंग त थियो नै, घोट्टा र रक्सी पनि थियो । अधिकांशले घोट्टा र रक्सी खाँदै आपसमा रंग दले। तर, रेखाले घोट्टा खाइनन्, रंग मात्र खेलिन्।
‘त्यहाँ सबै घोट्टा र रक्सी खाएर रंग खेल्दै रमाइलो गरिरहेका थिए । म भने त्यसै झ्यापजस्तो थिएँ,’ रेखाले त्यो होली सम्झिन्, ‘मैले घोट्टा मुखमै हालिनँ । रंग टाउकोदेखि खुट्टासम्म पूरै लगाएकी थिएँ । सुरुमा त ठीकै थियो, एक छिनपछि मलाई रंगले नै लाग्यो।’

रंगले नै नशा दिएको उनी बताउँछिन् । ‘रंगले पनि एक प्रकारको मातेको जस्तो अनुभव गराउँदो रहेछ,’ त्यो सम्झँदा रेखालाई अहिले पनि लठ्ठ भएको अनुभव हुन्छ।’
‘त्योबेला सबैजना घोट्टा, दारु खाएर रमाइरहेका थिए । म भने आफ्नै धुनमा थिएँ, भित्ता समाएर सबैलाई एकोहोरो हेरिरहेको थिएँ,’ रेखा भन्छिन् । सुटिङ युनिटसँगै होली खेलिरहेको नभई अर्कै ठाउँमा भएको अनुभव उनले गरिन्।
‘म टोलाइरहेकै बेला एकजना निर्देशक मेरो छेउमा आएर बस्नुभयो । मलाई हेरेर हाँस्नुभएको जस्तो लागेको थियो । पछि थाहा भयो, उहाँ मलाई हेरेर होइन, घोट्टा खाएको सुरमा हाँस्नुभएको रहेछ,’ रेखा भन्छिन्, ‘उहाँलाई घोट्टाले लठ्याएको रहेछ, तर मलाई केही नखाँदै नशा चढेको थियो । अहिले पनि मलाई रंग लगाएपछि नशा चढेजस्तो लाग्छ।’
लोलाले लुगा फोहोर हुँदा बेस्सरी रोएँ
अहिले काठमाडौंको होली सभ्य भएको छ। बाटो हिँड्नेलाई लोला हान्ने, पानी छ्याप्ने खासै गरिन्न। केही वर्ष अगाडिसम्म होली आउनु साता अघिदेखि नै काठमाडौंका गल्लीहरू हिँड्नै नसकिने हुन्थे । लोला हान्ने पानी, छ्याप्ने गरिन्थ्यो।
होली नजिकिँदै गरेका बेला रेखा काठमाडौं आइन्, मिस नेपालमा भाग लिन। त्यतिखेर रेखा १६ वर्षकी मात्र थिइन् । काठमाडौंको होली कहिल्यै नदेखेकी र नभोगेकी रेखाले यहाँको होली देखिन् र भोगिन् पनि।

रेखासँग पनि काठमाडौंका गल्लीमा लोला खाएको अनुभव छ। ‘होलीको दिनभन्दा धेरै अगाडि नै लोला हान्ने, पानी छ्याप्ने गरिँदो रहेछ, मलाई त्यो थाहा थिएन । म काम विशेषले बाहिर गएको थिएँ । त्यत्तिकैमा पछाडिबाट लोला हान्यो, खासै दुखेन, तर लुगा नै फोहोर भयो,’ उनले होलीमा लोला खाएको त्यो अनुभव यसरी सुनाइन्, ‘कामले बाहिर हिँडेको म लुगा फोहोर भएपछि लुगा नै बर्बाद पारिदियो भन्दै बाटैमा बेस्सरी रोएँ।’
त्यसलाई होलीको नराम्रो अनुभवका रूपमा लिएकी छन् रेखाले । त्यो घटनापछि होली नै इरिटेट लाग्न थालेको उनले बताइन् । ‘पछि काठमाडौं नै बस्न थालेपछि विस्तारै होलीमा फेरि रमाउन थालेँ,’ उनले भनिन्।
तराईको त्यो होली
लामो समयदेखि काठमाडौंमा होली मनाइरहेकी रेखा मोरङमै मनाएको होली अहिले पनि सम्झिन्छिन् । ‘तराईमै हुँदा होलीमा खुब रमाइलो गरियो । हामीहरू होली खेल्दै एउटा जक्सनबाट अर्को जक्सनसम्म पुग्थ्यौं। पछाडि लुकेर रङ लगाइयो, पानी छ्यापियो, अरूले पनि हामीलाई त्यसै गर्थे । पछाडिबाट लुकेर अरूले रङ दल्दा, पानी छ्याप्दा पनि रमाइलो लाग्यो,’ उनी भन्छिन्, ‘त्यस्तो होलीको दिनमा मात्र हुन्थ्यो, रंग दल्दै आपसमा माया साटिन्थ्यो, सद्भाव बाँडिन्थ्यो ।’ तराईमा मनाएका ती होली सम्झँदा अहिले पनि मन रमाउँछ, छुट्टै स्फूर्ति आउँछ उनलाई।
विगतमा राम्रो नराम्रो जस्तोसुकै अनुभव भोगेको भए पनि होली भन्नेबित्तिकै छुट्टै उमंग आउने रेखा बताउँछिन्। उनी हरेक होली अविष्मरणीय भएको ठान्छिन् । ‘काठमाडौंमा पनि थुप्रै होली खेलियो, रमाइलो गरियो । तर, तराईकै होली रमाइलो लाग्छ,’ रेखा भन्छिन्, ‘रंगले मात्र होइन, होलीमा हुने अन्य कार्यक्रमले मलाई तानेको छ । होलीमा तराईमा रुख चढ्ने, घैँटो फुटाउनेजस्ता कार्यक्रम गरिन्थ्यो, छुट्टै रमाइलो हुन्थ्यो।’












-(86)-1764936079.jpg)