साउन १ देखि देशभर निर्माणको काम रोक्ने व्यवसायीको निर्णय
काठमाडौं, जेठ २२ : सार्वजनिक खरिद नियमावली (छैठौैं संशोधन)को विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले साउन १ गतेदेखि निर्माणको काम ठप्प प....

काठमाडौं, जेठ २२ : सार्वजनिक खरिद नियमावली (छैठौैं संशोधन)को विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले साउन १ गतेदेखि निर्माणको काम ठप्प पार्ने भएको छ।
निर्माण व्यवसायी संघले बुधबार काठमाडौंमा विशेष भेला गरेर संशोधन फिर्ता नभए साउन १ गतेदेखि काम रोक्ने निर्णय गरेको हो। ‘सरकारले संशोधनमा परिमार्जन नगरे साउन १ गतेदेखि कुनै पनि निर्माणको काम अघि बढ्न दिँदैनौं,’ निर्माण व्यवसायायी महासंघका अध्यक्ष रवि सिंहले भने। उनले अहिले सरकारी ठेक्का बहिष्कार गर्दै आएको र अब सबै निर्माण व्यवसायीको इजाजत सरकारलाई बुझाउने निर्णय समेत भएको जानकारी दिए।
‘असार महिनाभर दबाबमुलक कार्यक्रम गर्ने र साउन १ गतेदेखि काम रोक्ने आजको भेलाको निर्णय हो,’ अध्यक्ष सिंहले भने। सरकारका केही प्रतिनिधिहरुले निर्माण व्यवसायीलाई सिध्याउने रणनीतिका साथ छैठौं संशोधन गरी नियमावली ल्याएको भन्दै भेलाले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष सिंहले जानकारी दिए।
‘नियमावली संशोधन हुनु अगावै पनि हामीले भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठलाई भेटेर सुझाव दिएका थियौ,’अध्यक्ष सिंहले भने, ‘तर नियमावली प्रकाशन भयो। अहिले पनि चुप लागेर बस्यौँ भने ऐन पनि त्यही किसिमको आउन सक्छ त्यसैले आन्दोलनको विकल्प छैन।’
तीन सातादेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले गत जेठ १४ देखि सरकारी ठेक्का बहिष्कार गर्दै आएका छन्। यस्तै, महासंघका कार्यालयमा रहेका कर्मचारीहरुले कालो पट्टी बाध्ने, कालो झन्डा राख्ने, धर्ना दिने, शान्तिपूर्ण र्याली गर्ने, हेबी इकुपमेन्ट प्रदर्शन गर्र्ने लगायत कार्यक्रम तय गरेको हो। महासंघको आन्दोलनप्रति लोकतान्त्रिक निर्माण व्यवसायी संघ र निर्माण व्यवसायी संगठनले ऐक्यबद्धता जनाएका छन्।











