राष्ट्रको अस्तित्व जोगाउन जनताको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष केसी
काठमाडौं, चैत १४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रको अस्तित्व जोगाउन जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम...
काठमाडौं, चैत १४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रको अस्तित्व जोगाउन जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इञ्चार्ज मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’को आज राजधानीमा विमोचन गर्दै अध्यक्ष केसीले मुलुकको सार्वभौमसत्ता जोगाउने जिम्मा नेता र उच्च ओहोदामा आसिन व्यक्तिभन्दा जनताको हुने उल्लेख गरे। नेपालीले आफ्नो देशको विकास आफैले गर्नुपर्नेमा जोड दिँदै उनले अरु माथि निर्भर रहेसम्म प्रगति सम्भव नहुने बताए।
'गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ,' अध्यक्ष केसीले भने, 'चुपचाप सहेर बसे भावि सन्ततीलाई हानी हुने निश्चित छ।' नेपाल र भारतको सम्बन्ध विशिष्ट खालको भए पनि भारतले बेलाबेलामा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको उनको भनाइ थियो।
पुस्तक विमोचन कार्यक्रममा लेखक रतन भण्डारीले नेपाल र भारतबीच निकै जटिल सम्बन्ध रहेको बताए। “सबैभन्दा राम्रो सम्बन्ध पनि भारतसित नै छ, जटिल समस्या पनि दुवै देशबीच छ”, उनले भने। यस्तै अर्का वक्ता डा. श्रीधर गौतमले कुनै पनि देशको विकासका लागि स्वतन्त्रा अतिआवश्यक भएको बताए।
लेखक नरेन्द्रजङ्ग पिटरले नेपाल–भारत सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा लेखक मनोज भट्ट, राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, महासचिव जनकराज शर्मा, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीलगायतले आ–आफ्नो धारणा राखेका थिए।











-1784031842.jpg)