Kathmandu Press

इटहरीका मेयर भन्छन्,‘पार्टीले कारबाही गरे थारूको छोरो हुँ, आफ्नै बारी खनेर खान्छु’

काठमाडौं, जेठ २२ : सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी अहिले विवादमा तानिएका छन्। 

पत्रकारलाई लोप्पा खुवाएर केह....

इटहरीका मेयर भन्छन्,‘पार्टीले कारबाही गरे थारूको छोरो हुँ, आफ्नै बारी खनेर खान्छु’

काठमाडौं, जेठ २२ : सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी अहिले विवादमा तानिएका छन्। 

पत्रकारलाई लोप्पा खुवाएर केही विवादमा तानिएका मेयर चौधरी पछिल्लो पटक फेरि पत्रकारको नाक भाँच्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको धम्की दिएपछि झन् विवादित बनेका छन्। 'पत्रकारको नाकको हड्डी भाँच्न' एक करोड रुपैयाँ बजेट छुट्याएको अभिव्यक्ति सार्वजनिक भएपछि मेयर चौधरीमाथि नेकपाकै शीर्ष नेताहरु पनि खनिएका छन्। 

नेकपाकै स्थायी समिति सदस्य योगेश भट्टराई र शंकर पोखरेलले मेयर चौधरीले आत्मालोचना गर्नु पर्ने बताएका छन्। उनीहरुले मेयर चौधरी हक्की स्वभावका भएपनि अभिव्यक्तिको तरिका गलत भएकाले आत्मालोचना गर्नु पर्ने बताएका छन्। 

Hardik ivf

नेकपाकै शीर्ष नेताहरुले आत्मालोचना गर्न सुझाएका छन् त्यसो नगरे तपाईँमाथि कारबाही होला नि? भन्ने काठमाडौंप्रेसको प्रश्नमा मेयर चौधरीले ठाडो उत्तर दिँदै भने,‘कारबाही गरुन्, म थारुको छोरो हुँ। आफ्नै बारी खनेर खान्छु। पार्टीले मलाई के खान दिएको छ र?’

मेयर चौधरीले आत्मालोचना शब्द कम्युनिष्टहरुको थेगोजस्तै भएको टिप्पणी गरे। ‘मलाई आत्मालोचना गर भन्ने नेताहरु आफैले माफी मागुन् कि, मेरो कार्यकर्ताले तिमीलाई गाली गर्‍यो मलाई माफ गर भनेर’ उनले भने,‘मैले माफी माग्न के गल्ती गरेको छु र?’ 

उनले केही पत्रकारहरूले कमिसनखोरी र भ्रष्ट नेताहरूको इशारामा चलेर आफूलाई बदनाम गर्ने गरी लेखिरहेको आरोप लगाए। ‘पत्रकारहरुले पनि पित पत्रकारिता गरेका छन्। मैले चाटुकारिता भनेर कमेन्ट गरेर मैले के बिराए?,’उनले भने। 

नेकपाका जिल्ला नेता राजकुमार गिरी भन्छन्,‘राजनीतिमा प्रभावशाली मानिने चौधरी मेयर भएदेखि नै भ्रष्टाचारीलाई सखाप पार्छु भनिरहेका थिए। पार्टीभित्र उनी हक्की र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिन्छिन्। त्यही अनुसार नेताहरुले अहिलेको अवस्था पनि बुझेका छन्।’

शिक्षण पेशामा रहेका उनलाई हक्की स्वभावकै कारण राजनीतिमा ल्याएको जिल्लाका नेताहरु बताउँछन्।  ‘२०५९ सालअघि उनी शिक्षण पेशामा थिए। उनको व्यवहार स्थानीयले रुचाएपछि उनलाई तत्कालीन पार्टी नेताहरुले कम्युनिष्ट राजनीतिमा तानेका थिए। अहिले पनि उनी पत्रकारहरुले काम गर्न दिएनन् । हैरान पारे भन्दै तनावमा हुन्छन्। त्यस्तै कुराहरु उनी नडराई पोख्छन्,’ नेता गिरीले भने।

यसअघि मेयर चौधरीले गत जेठ ८ गते इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब–इन्जिनियर रामबहादुर खड्कामाथि हातपात गरेका थिए। हातपातको घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा पनि गरेका थिए।

हातपातको घटनापछि मेयर चौधरीसँग प्रतिक्रिया लिन गएका पत्रकारहरु कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई उपमहानगपालिकाको कार्यालय परिसरमै गालीगलौज गरेका थिए। सोही क्रममा मेयर चौधरीले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।
 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्