उडान खुल्यो, मौसम सुधार हुन समय लाग्ने
काठमाडौं, चैत १३ : प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको...
काठमाडौं, चैत १३ : प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ। मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट उडान सुरु भएको जानकारी दिए। ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायुयानलाई आइएफआर उडान खुला गरिएको छ,’ उनले भने।
विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तर्राष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको महाप्रबन्धक तिवारीले बताए। उनका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज अवतरण भएको छ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए।
उनका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ।











