शान्ति प्रक्रिया चाँडो सक्न ओली–प्रचण्ड–देउवाबीच बालुवाटारमा बैठक
काठमाडौं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालीन घटनासहित शान्ति प्रक्रियाका बाँकी काम छिटो सक्नेबारे प्र....
काठमाडौं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालीन घटनासहित शान्ति प्रक्रियाका बाँकी काम छिटो सक्नेबारे प्रमुख प्रतिपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख कृष्णबहादुर महरा पनि सहभागी थिए। बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, त्यसको ऐन संशोधन प्रक्रिया अघि बढाउन विधेयक ल्याउनेबारे पनि छलफल भएको थियो। काठमाडौंप्रेससँग उनले भने, ‘सबै मिलेर शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम चाँडो सक्नेबारे सौहाद्र्रपूर्ण छलफल भयो।’
बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने,'प्रधानमन्त्रीजीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक तयारी गरिरहेको सिल्सिलामा छलफल भएको हो। आयोगको पदाधिकारी नियुक्तिबारे पनि छलफल भयो।’
स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनेबारे गृहकार्य गरिरहेका छन्। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनबारे पनि काम अघि बढाएको छ। त्यसको सिफारिश समिति बनिसकेको छ।
आयोगले कस्ता घटनामा क्षमादान दिन सिफारिश गर्ने र कस्ता घटनाका दोषीलाई कस्तो दण्डको व्यवस्था गर्ने भन्नेबारे ऐनमा संशोधनको तयारी गरिरहेको छ।
बैठकमा प्रधानमन्त्री ओलीका अतिरिक्त संसदीय दलका उपनेता नेम्वाङ र कानूनमन्त्री भानुभक्त ढकाल थिए।
साविक माओवादी अध्यक्ष समेत रहेका नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग वर्षमान पुन सहभागी थिए। त्यस्तै, कांग्रेस सभापति देउवाका साथ नेता लेखक र मिनेन्द्र रिजाल बैठकमा सहभागी थिए।






