प्रधानमन्त्री ओलीले सिंहदरबारमा रोपे एभोकाडोको बिरुवा
काठमाडाैं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान’लाई सिंहदरब....

काठमाडाैं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको बिरुवा रोपी निरन्तरता दिएका छन्।
प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी अभियानको आरम्भ गरेका थिए। सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको छ।
साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलमा विरुवा रोपण गर्ने नीति अवलम्बन गरिएको छ। सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा अभियानलाई निरन्तरता दिँदै सरकारले राष्ट्रव्यापी रुपमा विस्तार गर्न सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा अनुरोध गरेको छ।
सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैंची, सुन्तला, आँप, लिची, केरा स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ विरुवा रोपण गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्ति सहभागी थिए। रासस











