कोरोनाबाट झापामा एकजनाको मृत्यु

झापा, चैत १२ : कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ।
कनकाई नगरपालिका-३ सुरुंगा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिए।
केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परेको बताइएको छ।
सुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई बिर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उहाँको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।
भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको बिहीबार बिहान अस्पतालमै निधन भएको जनाइएको छ । मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ।











