प्रहरी संगठन सुधारमा मन्त्रालय गम्भीर छ : गृहसचिव
काठमाडौं, चैत ११ : गृहसचिव महेश्वर न्यौपानेले प्रहरी संगठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन्।...
काठमाडौं, चैत ११ : गृहसचिव महेश्वर न्यौपानेले प्रहरी संगठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन्। उनले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायत सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको जानकारी दिए।
प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा आज (बुधबार) गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए। सो अवसरमा उनले प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिए।
उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए। आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उहाँले सुझाव दिए। सो क्रममा उहाँले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी ल्एिका थिए।
निरीक्षणपश्चात् आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमानदारीका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए। उनले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको जानकारी दिए। प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
उनले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रशासन सुधार योजना कार्यान्वयनका साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायत कार्ययोजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्नेमा जोड दिए।











