इद उलफित्रमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं, जेठ २२ : इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। उनले स्वदेश तथा....

काठमाडौं, जेठ २२ : इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन्।
राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन्।
शुभकामना सन्देशमा उनले पवित्र महिना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन्।











