Kathmandu Press

काठमाडौं महानगरले स्थानीय पाठ्यक्रम लागू गर्ने

काठमाडौं, चैत ११  : काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । गत असोजमा बसेको महानगरको...
काठमाडौं महानगरले स्थानीय पाठ्यक्रम लागू गर्ने

काठमाडौं, चैत ११  : काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । गत असोजमा बसेको महानगरको १९औं कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप महानगरको शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो।

कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र  सञ्चालन हुनेछ। कार्यान्वयनका लागि महानगरले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ। निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।

‘यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य सुरु गर्छौं’, प्रमुख सुवेदीले भने। यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको र पाठ्यपुस्तक पनि तल्काल पठाइने उनले बताए।

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा २ र ३ मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो।

कामपा प्रमुख शाक्यले काठमाडौं नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको प्रमुख सुवेदीले बताए।

पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी भएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले  पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताए । त्यसैगरी नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।

महानगरभित्र रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको छ । अब यी सबै विद्यालयमा १०० पूर्णांकको स्थानीय विषयको पठनपाठन हुनेछ । महानगरका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् भने सामुदायिक विद्यालयमा एक हजार सात सय ९१  शिक्षक कार्यरत छन्।

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्