पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

काठमाडौं, चैत १० : पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्न पर्यटन श्रमिकले माग गरेका छन्। उनीहरुले पारिश्रमिक वृद्धिसहित कानून नमान्ने पर्यटन कम्पनीलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै मजदूरहरुले संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन (यूनिट्राभ) का श्रमिकहरुले संस्कृतिमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँंदै पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए। सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग श्रमिकको छ ।
यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी –विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।











