शून्य समयमा भूमि संरक्षणदेखि संसद्को बिजनेससम्म ध्यानाकर्षण
काठमाडौं, चैत १० : प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण...
काठमाडौं, चैत १० : प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे भने सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको उल्लेख गरे।
सांसद गगन थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाए। सांसद खेमप्रसाद लोहनीले रोकिएको मध्यपहाडी राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउए ।
यसैगरी सांसद आशाकुमारी विंकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गरिन्। सांसद घनश्याम खतिवडाले लगानी ठेक्काहरु अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिए ।
सांसद अञ्जना विशङ्खेले कोभिड–१९ पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा नराखेको भन्दै सरकारलाई प्रश्न गरिन् ।











