Kathmandu Press

पुनर्निर्माण नसकिँदा कान्ती ईश्वरी मावि बन्द

पाँच वर्ष बितिसक्दा पनि पुनर्निर्माण सम्पन्न नहुँदा कक्षाकोठा अभावका कारण पठनपाठन बन्द गर्नुपरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
पुनर्निर्माण नसकिँदा कान्ती ईश्वरी मावि बन्द

काठमाडौं, चैत १० : काठमाडौं वसन्तपुरस्थित कान्ती ईश्वरी राज्यलक्ष्मी मावि बन्द भएको छ।

विसं २००७ मा तत्कालीन राजा त्रिभुवनको सक्रियतामा स्थापित उक्त सामुदायिक विद्यालय भूकम्पबाट क्षतिग्रस्त भएको थियो। पाँच वर्ष बितिसक्दा पनि पुनर्निर्माण सम्पन्न भएको छैन। कक्षाकोठा अभावका कारण पठनपाठन बन्द गर्नुपरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

नयाँ शैक्षिक सत्रमा सुरु हुँदै गर्दा विद्यालय खोल्ने वातावरण नभएकाले बन्द गर्नुपरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

यसअघि कन्या मावि बन्द भएको थियो, जुन नेपालको पहिलो कन्या पाठशाला हो। विसं १९८० मा चन्द्रकान्त जोशी मल्लले यसको स्थापना गरेका थिए।

दुवै विद्यालयका विद्यार्थीलाई मरुटोलस्थित शान्ति निकुञ्जमा सारिएको छ। यस्तै, कार्यालय सहयोगीसहित १६ शिक्षकलाई राजधानीका विभिन्न विद्यालयमा पठाइएको कान्ती ईश्वरी राज्यलक्ष्मी माविका पूर्वप्रधानाध्यापक रामशरण खनाल बताउँछन्।

विद्यालय केही समयका लागि स्थानान्तरण मात्र गरिएको महानगरले बताउँदै आएको छ। महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार विद्यालयको अस्तित्व तत्काल मेटिएको देखिए पनि दीर्घकालमा यस्ता विद्यालय अन्य ठाउँमा स्थापित हुनेछ।
 

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्