किसानलाई निःशुल्क घाँसको बीउ
कैलाली, चैत १० : कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ। व्यावसायिकरूपमा पशुपालन गरिरहेका...
कैलाली, चैत १० : कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ। व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो।
पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताए। पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ।
'नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौं’, पाण्डेले भनmे ‘नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ।’
टीकापुर नगरपालिकामा अहिले व्यावसायिकरुपमा पशुपालन गर्ने कृषि फार्म ८२ छन् भने २५ समूह छन् । ती कृषि फार्ममा गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन्। व्यावसायिकरूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई पशु सेवा शाखा कार्यालयले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ।











