कोरोनाका कारण मानसिक समस्या बढ्दो
काठमाडौं, चैत १० : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहेको मनोविद्ले बताएका छन् ।कोरोनाका कारण परिवार...
काठमाडौं, चैत १० : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहेको मनोविद्ले बताएका छन् ।
कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपले मानिसक समस्या देखापरेको मनोविद्हरुको भनाइ छ। यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको उनीहरुले सुझाव दिएका छन् ।
काठमाडौंमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्याका कारण मानिसमा डिप्रेसनलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए । मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा जरुरी रहेको बताउँदै उनले सरकारी र गैरसरकारी क्षेत्रबाट अभियान चलाउनु पर्ने बताए ।
यस्तै, अर्का मनोविद् पदमराज जोशीले प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सक कहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।
प्रशिक्षणमा सहभागी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको बताउँदै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जानेरहेछ भन्ने कुरा आफूले सिकेको बताइन् ।
तालिममा स्टाफ नर्स, प्राध्यापन पेशामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरु आउने गरेका छन्।











