बेनी–जोमसोम सडक १४ देखि १७ गतेसम्म बन्द हुने
मुस्ताङ, चैत १० : बेनी–जोमसोम सडक चार दिनका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म...
मुस्ताङ, चैत १० : बेनी–जोमसोम सडक चार दिनका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सूचना प्रकाशित गर्दै सडक बन्दा हुने जनाएको छ। सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जिप्रका मुकस्ताङले जनाएको छ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको हो ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज–२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।
स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए । झण्डै रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना वि.सं २०७४ देखि निर्माण सरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ।











