ईपीएस पीडितका तर्फबाट कांग्रेस नेतृ संग्रौलाले बुझाइन् ज्ञापनपत्र
‘हाम्रो देशको कमजोर कूटनीतिक पहल र समन्वय अभावका कारण नेपाली युवा गन्तव्यमा पुग्न सकेनन्,’ पत्रमा भनिएको छ।
काठमाडौं, चैत ९ : भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीमा दक्षिण कोरिया जान नपाएका युवाको तर्फबाट सोमबार कांग्रेस नेतृ डा. डिला संग्रौलाले श्रम मन्त्री गौरीशंकर चौधरीलाई ज्ञापनपत्र बुझाएकी छन्।
डा. संग्रौला कांग्रेसले गठन गरेको छाया सरकारकी श्रम मन्त्री पनि हुन्। ज्ञापनपत्रमा उनले उचित मापदण्ड तयार पारेर दक्षिण कोरियाको रोजगार प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेका युवा कोभिड-१९ महामारीका कारण दक्षिण कोरिया जान पाएका छैनन्। रोजगारी खुलाउन सरकारले वर्षदिनदेखि कुनै पहल नगरेकामा ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएको छ।
नौ हजारभन्दा बढी युवा दक्षिण कोरिया जान नपाएर अलपत्र परेको ज्ञापनपत्रमा उल्लेख छ। ‘यति लामो समय नेपाल सरकारले कुनै निर्णय र पहलकदमी नलिँदा र सोहीअनुसारको कोरियाली रोजगार प्रक्रिया सुरु गर्न उच्चस्तरीय तहबाट कोरियाली सरकारसँग कूटनीतिक पहल र अनुरोध नगर्दा कोरियाली रोजगार अनिश्चित बनेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘कोरियाले सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इस्युएन्स जारी गरेको ९० दिनभित्र कोरिया पुगिसक्नु पर्ने प्रावधान छ, अहिले कोरियाले अवधि बढाएर ६ महिना बनाएको छ। प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ।’
तोकिएको समयभित्र दक्षिण कोरिया नपुग्दा धेरै श्रमिकको प्रक्रिया रद्द भएर रोजगारी गुमिसकेको ज्ञापनपत्रमा उल्लेख छ।
महामारीका बावजुल फिलिपिन्स, म्यानमार, भियतनाम, कम्बोडिया, श्रीलंकालगायत मुलुकबाट कमिटेड कामदार कोरिया प्रवेश गरिरहेको पत्रमा स्मरण गराइएको छ। ‘तर, हाम्रो देशको कमजोर कूटनीतिक पहल र समन्वय अभावका कारण नेपाली युवा गन्तव्यमा पुग्न सकेनन्,’ पत्रमा भनिएको छ।











