ट्राफिक व्यवस्थापनमा ९५ जना स्वयंसेवक
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम पालना गराउन ९५ जना स्वयंसेवक खटाएको छ।
काठमाडौं, चैत ९ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम पालना गराउन ९५ जना स्वयंसेवक खटाएको छ।
उनीहरूलाई १० दिनसम्म सडकमा खटाइने महाशाखाले जनाएको छ। राष्ट्रिय सेवा दलका ५०, ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ स्वयंसेवक परिचालन गरिएको हो।
ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले स्वयंसेवक परिचालन गर्ने गरिएको महाशाखाको भनाइ छ। विभिन्न चोक, जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा सोमबारदेखि उनीहरूलाई परिचालन गरिएको हो।
यसअघि पनि महाशाखाले संघसंस्था, स्कुल, कलेजका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकसम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको थियो। सोही अभियानलाई निरन्तरता दिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
प्रकाशित मिति: १६:५९ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











