Kathmandu Press

अरुण-३ को विद्युत बिक्रीका लागि टेन्डर

एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीका प्रस्ताव आह्वान गरेको छ।
अरुण-३ को विद्युत बिक्रीका लागि टेन्डर

काठमाडौं, चैत ९ : एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीका प्रस्ताव आह्वान गरेको छ।

भारतको लगानीमा संखुवासभा मकालु गाउँपालिकामा अरुण-३ जलविद्युत परियोजना निर्माणाधीन छ। कम्पनीले सोमबार सूचना जारी गर्दै बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीका अनुसार बंगलादेश, भारत र नेपालका कम्पनीले टेन्डरमा प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतिस्पर्धाबाट छनोट हुने प्रस्तावकर्ताले एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीसँग २५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्नसक्ने छन्।

अरुण-३ को निर्माण ३५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। नौ सय मेगावाटको उक्त परियोजनाले फेब्रुअरी २०२३ सम्म उत्पादन सुरु गर्ने लक्ष्य छ।

भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) अन्तर्गतको सहायक कम्पनीले जिम्मा लिएको उक्त परियोजनाका लागि भारत सरकारले नै बजेट छुट्याएको छ।

भारतीय लगानीबाहेक नेपालका एभरेस्ट बैंकले आठ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले चार अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।

अरुण-३ बाट उत्पादित बिजुलीको २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट नेपाल सरकारले निःशुल्क पाउने सम्झौता छ। निर्माण सम्पन्न भएको २५ वर्ष सञ्चालन गरेर चालु अवस्थाको परियोजना भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

उक्त आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएपछि १० वर्षसम्म शतप्रतिशत र त्यसपछिको पाँच वर्ष ५० प्रतिशत आयकर छुट पाउने सम्झौता छ। यो आयोजनाबाट नेपालले २५ वर्षमा तीन खर्ब ४८ अर्ब रुपैयाँ राजस्व पाउनेछ।
 

प्रकाशित मिति: १६:१० बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्