Kathmandu Press

महोत्तरीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

महोत्तरीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

महोत्तरी, चैत ९ : महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी-१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नुभएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो।

गौशाला बजारस्थित गौशाला नगरपालिकाको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ। आयुर्वेद पद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो। केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिने मात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताए। 

‘ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्,’ पूर्वमन्त्री पोखरेलले भने, ‘विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।’ आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।

‘वर्तमान परिवेशमा सर्वप्रथम मानिसलाई जीवनपद्धति परिवर्तन गर्नु आवश्यक छ,’ पोखरेलले भने, ‘यसका लागि योग, ध्यान र साधनासँगै साविक खाना आधारभूत कुरा हुन्।’ यो पक्ष अँगालेपछि मानिस स्वस्थ्य रहने पोखरेलको भनाइ छ। 

नेपाल सरकारले स्थापना गरेको केन्द्रको स्थापनाले अब जिल्लाको उत्तरी भेगका गौशाला, बर्दिबास र औरही नगरपालिकासहित सोनमा गाउँपालिकाका बासिन्दाले आयुर्वेद पद्धतिको उपचार पाउन सहज भएको छ।

केन्द्रलाई स्थानीय तह, विद्यालय र गौशालास्थित सरकारी कार्यालय र संस्थाको समन्वयमा ऋतु परिवर्तन भएलगत्तै योग शिविरको आयोजना गर्न पोखरेलले सुझाव दिए। योसँगै स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिन आवश्यकता रहेको पोखरेलको थप सुझाव छ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले केन्द्रलाई नमूना औषधालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए। नगरपालिकाले पञ्चकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको महतोले बताए।

केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्