‘परराष्ट्र नीतिमा एकमत हुनुपर्ने’
काठमाडौं, माघ ११ : राजनीतिक दलका नेता र विज्ञहरुले दीर्घकालीन परराष्ट्र नीति आवश्यक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय हीतलाई आधार बनाइएका परर....

काठमाडौं, माघ ११ : राजनीतिक दलका नेता र विज्ञहरुले दीर्घकालीन परराष्ट्र नीति आवश्यक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय हीतलाई आधार बनाइएका परराष्ट्र नीतिमा एकमत हुनुपर्नेमा पनि जोड दिएका छन् । काठमाडौंको होटेल र्याडिसनमा आयोजित ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन् परराष्ट्र नीति’ विषयक विचार गोष्ठीका वक्ताहरु यस्तो विचार व्यक्त गरे ।
नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीति बनाउँदा राष्ट्रिय हितमा आधारित बनाउने हो भने राजनीतिक दलहरुबीच खासै विवाद नरहने बताए । छिमेकीहरुलाई अविश्वास गरेर वा उनीहरुसँग लम्पसार परेर व्यवहार गर्नुभन्दा सन्तुलित परराष्ट्र नीति अहिलेको आवश्यकता भएको उनको कथन थियो । छिमेकी र शक्ति राष्ट्रहरुलाई नेपालका संवेदनशीलताहरु स्पष्टरुपमा बुझाइदिनुपर्ने उनको भनाइ थियो ।
नयाँ शक्ति पार्टीका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीति निर्माण यहाँका आन्तरिक आवश्यकता र अन्तर्राष्ट्रिय शक्ति संरचनामा उत्तिकै भर पर्ने बताए । त्यसैकारण नेपालले भारत र चीन जस्ता छिमेकी र अमेरिकाजस्तो शक्ति राष्ट्रसँगसम्बन्ध राखिरहनुपर्ने बाध्यता रहेको उनले बताए । नेपाल शक्तिशाली राष्ट्रहरुबीच भएकोले शान्तिको वकालत गर्ने परराष्ट्र नीति नेपालको बाध्यता भएकोमा उनको जोड थियो ।
नेकपाका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि केन्द्रित विदेश नीति अवलम्बन गर्ने भन्दैमा सार्वभौमसत्तासँग सम्झौता गर्न नहुने बताए । उनले भने, ‘नेपालको अस्तित्वमा गम्भीर चुनौती छैन भन्दैमा ढुक्क भएर बस्न सकिंदैन ।’
कांग्रेस नेता पूर्व अर्थ एवं परराष्ट्रमन्त्री डा. रामशरण महतले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारणमा आर्थिक पक्ष सबैभन्दा महत्वपूर्ण हुन पुगेको बताए । नेपालको परराष्ट्र नीति निर्माण र सञ्चालनमा पनि आर्थिक पक्षलाई प्राथमिकतामा राख्नु पर्नेमा उनले जोड दिए ।
पूर्व राजदूत डा. शम्भुराम सिंखडाले समृद्धि केन्द्रित प्रभावकारी परराष्ट्र निर्माणका लागि आन्तरिक राजनीतिक स्थीरता हुनुपर्ने र आन्तरिक क्षमता विकास गर्नुपर्ने बताए । त्यसका लागि नेपालका आन्तरिक समस्या र परराष्ट्र नीति निर्माणका लागि बलियो बौद्धिक बहस चाहिएको विचार उनले व्यक्त गरे ।
पूर्व राजदूत विजयकान्त लाल कर्णले परराष्ट्रनीति निर्माण र कुटनीति सञ्चालनमा मधेश लगायत सीमान्तकृत वर्गका चासो पनि सम्बोधन गरिनुपर्ने विचार व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति स्नातकोत्तर कार्यक्रमका संयोजक डा. खड्ग केसीले प्रभावकारी परराष्ट्रनीति र सार्वजनिक नीति बन्नका लागि गतिशील र उच्चस्तरका शैक्षिक संस्थाहरु चाहिने विचार व्यक्त गरे । नेपालको आवश्यकता अनुसारको प्रभावकारी परराष्ट्र नीति बनाउन चाहिने व्यक्तिहरु उत्पादन गर्ने संस्थागत संरचना आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा अध्येता ध्रुवराज अधिकारीले शान्ति र समृद्धिका लागि नेपालले अंगाल्नुपर्ने दीर्घकालीन् परराष्ट्र नीतिका बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।











