Kathmandu Press

किरात राई यायोक्खाले सप्तकोसीबीचको ढुंगा (खुवालुङ) फुटाउन नदिने

सुनसरी, चैत ६ : किरात राई यायोक्खाले अरुण र तमोर नदीकोको संगमस्थलमै रहेको ढुंगा (खुवालुङ) किराती आस्थाको केन्द्र रहेको भन्दै त्यसलाई फुटाउन नदिने...
किरात राई यायोक्खाले सप्तकोसीबीचको ढुंगा (खुवालुङ) फुटाउन नदिने

सुनसरी, चैत ६ : किरात राई यायोक्खाले अरुण र तमोर नदीकोको संगमस्थलमै रहेको ढुंगा (खुवालुङ) किराती आस्थाको केन्द्र रहेको भन्दै त्यसलाई फुटाउन नदिने बताएको छ।

प्रधानमन्त्री केपी ओलीले फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा खुवालुङ फुटाउने बताएपछि त्यसले विवादको रूप लिएको थियो। सप्तकोसीमा सहज रूपमा जेटबोट चलाउन उक्त ढुंगा फुटाउनुपर्ने अभिव्यक्ति प्रधानमन्त्रीले दिएका थिए। किरात राई समुदायले भने खुवालुङ फुटाएर किराती धर्मसंस्कृतिलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। 

खुवालुङले जेटबोट चलाउन बाधा दिएको भन्दै त्यसलाई फुटाउन जेटबोट संचालक कम्पनीका पदाधिकारीहरूले प्रयास गर्दै आएका थिए। त्यसको प्रतिकार गर्दै जेटबोट चालकसँग विवाद नै भएपछि केही व्यक्ति पक्राउ परेका थिए । त्यसपछि खुवालुङ विवादले थप चर्चा पाएको थियो। 

विवाद बढ्दै जाँदा खुवालुङको प्रत्यक्ष सम्बन्ध किरात राई समुदाय रहेको किरात राई यायोक्खाले स्पष्ट पारेको छ। यायोक्खाले किरातहरूको मिथ, संस्कृति र सभ्यतासँग खुवालुङको सम्बन्ध जोडिएको भन्दै त्यसलाई नफुटाउन आग्रह गरेको छ। किरात राई समुदायको सबै संस्कार सुरु हुने  खुवालुङबाटै हुने भएकाले देवतासरह रहेको बताइएको छ।

यायोक्खा सुनसरीका अध्यक्ष एवं खुवालुङ क्षेत्र भेला आयोजक समितिका संयोजक बलराम राईले किरात राई चाम्लिङ भाषामा ‘खु’ भनेको ठूलो खोला नदी, वा भनेको पानी र लुङ भनेको ढुंगा हुन्छ। अर्थात नदीको पानीमा रहेको ढुंगा नै खुवालुङ हो।

किराती मुन्दुममा उल्लेख गरेको उद्धृत गर्दै तराईबाट कोसी नदी पछ्याउँदै पुर्खा पहाड लाग्दा खुवालुङमा पुगेपछि बन्द भएको बाटो पूजा अर्चनापछि खुलेको र खुवालुङमा किराती शक्ति रहेको थाहा पाइएपछि बर्सेनि भेला भएर पूजा गर्ने परम्परा रहेको उनले बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने खुवालुङ विवाद अनावश्यक भएको टिप्पणी गरेका छन्। उनले त्यो विवाद फुर्सदिलाहरुले अनावश्यक रूपमा झिकेको प्रतिक्रिया दिएका छन्।। उनले खुवालुङ फुटाउने भनेर कतै नभनिएको भन्दै प्रधानमन्त्री ओलीको बचाउ पनि गर्दै आएका छन्। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्