Kathmandu Press

त्रिशुलीमा सुमो खस्दा तीनको मृत्यु, तीन वेपत्ता, पाँच गम्भीर घाइते

रसुवा, जेठ २१ : रसुवाको मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना वेपत्ता भएका छन भने पाँच....

त्रिशुलीमा सुमो खस्दा तीनको मृत्यु, तीन वेपत्ता, पाँच गम्भीर घाइते

रसुवा, जेठ २१ : रसुवाको मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना वेपत्ता भएका छन भने पाँच गम्भीर घाइते भएका छन्।

हिजो साँझ पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा १० च ५८२० नं. को सुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भएको हो। सुमो करिब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घलेको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  ईश्वरीप्रसाद भण्डारीले बताए।

सुमोमा सवार सबै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन्।

दुर्घटनामा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ गमभीर घाइते रहेका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ।

त्यस्तै, आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले वेपत्ता रहेको इन्स्पेक्टर भण्डारीले बताए।

वेपत्ताहरूको खोजीका लागि डिएसपी भागेन्द्रपुरूष ढकालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। वेपत्ताको खाजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:२१ बजे, मंगलबार, जेठ २१, २०७६