Kathmandu Press

४० वर्षदेखि भारतको जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना भोलि मात्र छुट्ने

काठमाडौं, चैत ६ : ४० वर्षदेखि भारतको कोलकातास्थित जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई शुक्रबार थुनामुक्त हुने भनिएको थियो। तर अदालती...
४० वर्षदेखि भारतको जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना भोलि मात्र छुट्ने

काठमाडौं, चैत ६ : ४० वर्षदेखि भारतको कोलकातास्थित जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई शुक्रबार थुनामुक्त हुने भनिएको थियो। तर अदालती प्रक्रिया नसकिएका कारण उनी छुट्न नसकेको उनलाई लिन कोलकाता पुगेका आफन्तले बताएका छन्।

कोलकाता उच्च अदालतले उनलाई छाड्न बुधबार नै आदेश दिइसकेको छ। अदालतले पठाएको पत्र दुर्गाप्रसादलाई राखिएको दमदम कारागारमा पुगिनसकेकाले थुनामुक्त हुन एक दिन ढिला भएको हो। आफन्तका अनुसार भोलि (शनिबार) साढे ११ बजे छुट्नेछन् । अदालतको आदेशबमोजिमको सम्झौतापत्रमा हस्ताक्षर भइसकेको जनाइएको छ। कोलकतास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार शुक्रबार ४ बजे कैदीबन्दी गणनाअघि अदालतको पत्र नपुगेकाले जेलमुक्त हुन एक दिन ढिलाइ हुने भएको हो।। 

अदालतले तिम्सिना थुनामुक्त हुने कारणमा उनको मानिसक स्वास्थ्य भनिएको छ। त्यसकारण ६÷६ महिनामा तिम्सिनाको मानसिक स्वास्थ्य स्थितिबारे महावाणिज्य दूतावासलाई जानकारी गराउनपर्ने पनि पत्रमा उल्लेख छ।

इलामको माई नगरपालिका-१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै हिँडे पनि काम खोज्दै दार्जिलिङ पुगेका थिए। त्यहाँ उनीमाथि हत्या आरोप लाग्यो । त्यसपछि जेलचलान गरिएका उनीबारे परिवार बेखबर रह्यो । 

दार्जिलिङमा रहँदा आगलागीमा परेर उनको कागजपत्र जलेको बताइएको छ। त्यसकारण चिन्तित बनेका उनी मानिसक रूपमा कमजोर बन्दै गएका हुन्। अदालतले स्वास्थ्य जाँच गरेर रिपोर्ट पेस गर्न भने पनि आफन्त कोही नभएपछि आदेशबमोजिम हुन सकेन। 

दमदम कारागारमा उनलाई चिन्ने कैदीले १० वर्षअघि देखेका थिए। आफू थुनामुक्त भएपछि तिनले एक रेडियोमार्फत दुर्गाप्रसाद ४० वर्षदेखि जेलमा रहेको जानकारी गराएका थिए। त्यसपछि नेपालका सञ्चारमाध्यममा पनि उनका बारेमा खबर सार्वजनिक भएको थियो।

दुर्गाप्रसादका आफन्तले २०७७ फागुन १० गते उनलाई जेलमै पुगेर भेटेका थिए। उनीहरुले दुर्गाप्रसादलाई थुनामुक्त गराउन अदालती प्रक्रिया अघि बढाएका थिए।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्