Kathmandu Press

जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र

काठमाडौं, चैत ६ : भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअगाडि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ । काठमाडौँ-८...
जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र
सांकेतिक तस्बिर

काठमाडौं, चैत ६ : भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअगाडि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको छ ।
 
काठमाडौँ-८ स्थित धेरै मानिसको आवतजावत हुने पशुपति क्षेत्रमा सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशे पुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दिनेशकुमार डङ्गोलले जानकारी दिए।

महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो। मासिक लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका छन्। आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ। सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको दर्शनार्थी यात्रु रमा सिग्देलको गुनासो छ। 

तार भूमिगत गर्न १२ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ।

पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीय शारदाप्रसाद वैद्यले आपत्ति  जनाए।  

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्