Kathmandu Press

प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक

चिनिया कवि लु सुनलाई उद्धृत गर्दै प्रचण्डले दिएको अभिव्यक्तिलाई काटेर बीचको भाग मात्र समावेश गरी भ्रामक भिडियो क्लिप सेयर गरिएको छ।
प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक

काठमाडौं, चैत ६ : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २९ फागुनमा काठमाडौंमा गरेको भाषणको भिडियो क्लिप केही दिनयता सामाजिक सञ्‍जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा पौडेल आर्यनको टिकटकको लोगो देख्‍न सकिन्छ भने केही प्रयोगकर्ताले उक्त लोगो नदेखिने बनाएका छन्। छोटा र खासगरी गीतसम्बन्धी भिडियो बनाई सेयर गर्न सकिने सामाजिक सञ्‍जाल टिकटकमा प्रयोगकर्ताले आफैँ बोलेर, अभिनय गरेर, अरूको आवाजमा अभिनय गरेर वा उपलब्ध तस्बिर वा भिडियो प्रयोग गरी छुट्टै भिडियो बनाउन सक्छन्। ती सामग्री टिकटकका साथै फेसबुक, ट्विटरमा पनि सेयर गर्न सकिन्छ।

उक्त २१ सेकेन्ड लामो भिडियोमा ‘कति नि लाज न भाको हेर्नु त जनता खराब रे लास्टमा त यो प्रचण्डको भनाई कामचोर लोभी पापी रे जनतालाई त’ भन्‍ने वाक्य छ। भिडियोमा प्रचण्डको यस्तो भनाइ राखिएको छ :

‘नेता होइन, जनता नै खराब भा’को हुनाले नेता नि खराब भएका। तपाईंहरू सबै असल हुनूस् त, नेता असल नभई सुख पाउँछ त? तपाईंहरू चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो। नेता पनि त्यस्तै भए।’

पौडेल आर्यनले टिकटकमा राखेको उक्त भिडियो तीन लाख ३५ हजार पटकभन्दा बढी हेरिएको छ भने विभिन्‍न सामाजिक सञ्‍जालमा दुई हजार ७४ पटक सेयर भएको छ। उक्त भिडियोमा १७ हजार ‘लभ रियाक्ट’ आएका छन् भने एक हजार आठ सयभन्दा धेरै प्रतिक्रिया।

सोही भिडियो फेसबुकमा पनि धेरै जनाले सेयर गरेका छन्। भानु सीपीएन नामक फेसबुकमा ३ चैतमा पोस्ट गरिएको उक्त भिडियो तीन हजार चार सयपटक सेयर भएको छ भने एक लाख ११ हजारपटक हेरिएको छ। यसैगरी, रुद्र थापा सरुले ‘सस्तो घर जग्गा नेपाल काठमाडौं’ नामक फेसबुकको पब्लिक ग्रुपमा सेयर गरेको उक्त भिडियो ९१ पटक सेयर गरिएको छ। यस्तै, ‘नेपाली मन नेपाली पन’ नामक पेजले सेयर गरेको भिडियो एक हजार तीन सयपटक हेरिएको छ भने २६ पटक सेयर गरिएको छ।

उक्त भिडियोमा केही शब्द बदली पौडेल आर्यनको टिकटकको लोगो नदेखिने गरी सोही भिडियो ट्विटरमा पनि सेयर गरिएको छ। किरण जोशी नामक ह्यान्डलबाट पोस्ट गरिएको उक्त भिडियो १६ पटक रिट्विट भएको छ।

तथ्य जाँच

उक्त भिडियोमा सूत्र टीभीको लोगो देखिएको हुनाले हामीले सूत्र टीभीको युट्युब च्यानलमा खोजी गर्दा सोही भिडियोको २६ मिनेट ३२ सेकेन्ड लामो पूर्ण अंश फेला पर्‍यो। उक्त भिडियो प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले गरेको भाषणको रहेको पत्ता लाग्यो।

भाइरल बनाइएको भिडियोमा दाबी गरेजस्तै प्रचण्डले ‘नेता होइन जनता नै खराब भा’को हुनाले नेता नि खराब भएका’ भन्‍ने अभिव्यक्ति दिएका हुन्। तर, उनले ती शब्दहरू नेपाली जनताका सन्दर्भमा प्रयोग गरेका होइनन्। उनले एक प्रसिद्ध चिनियाँ कवि लु सुनलाई उद्धृत गर्दै त्यसो भनेका हुन्।

प्रचण्डले कार्यक्रममा राखेको पूरा भनाइ यस्तो छ- ‘लु सुन भन्‍ने एउटा महान कवि तपाईंहरू सबैले सुन्‍नुभएको छ। मानिसहरूले असाध्यै धेरै त्यतिबेला चै एकथरि मान्छेमा आदत भयो, नेतालाई गाली गर्ने। जतिबेला पनि नेताहरू खत्तम भयो भन्या छ, पार्टीलाई गाली गर्‍या छ, जताकतै। त्यसो गरेको सुनेपछि लु सुनले भन्‍नुभाथ्यो- नेता होइन, जनता नै खराब भाको हुनाले नेता नि खराब भएका। तपाईंहरू सबै असल हुनूस् त, नेता असल नभई सुख पाउँछ त? तपाईहरू चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो। नेता पनि त्यस्तै भए, भन्‍नुभा’छ के लु सुनले।’

चिनिया कवि लु सुनलाई उद्धृत गर्दै प्रचण्डले दिएको अभिव्यक्तिलाई काटेर बीचको भाग मात्र समावेश गरी भ्रामक भिडियो क्लिप सेयर गरिएको छ।

त्यसैले सूत्र टीभीको भिडियोलाई केही काँटछाँट गरी बेग्लै अर्थ लाग्‍ने गरी प्रचण्डको भाषणको भिडियोलाई भाइरल बनाइएको हाम्रो ठहर छ।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)
 

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्