डेन्टल साइन्स एसोसिएसनले ‘मुख स्वास्थ्य गोष्ठी’ गर्ने
काठमाडौं, चैत ५ : विश्व मुख स्वास्थ्य दिवस-२०७७ को पूर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।बिहीबार रिपोर्टर्स क्बल नेपालमा...
काठमाडौं, चैत ५ : विश्व मुख स्वास्थ्य दिवस-२०७७ को पूर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
बिहीबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएसनले आगामी शनिबार र आइतबार अन्तरास्ट्रिय डेन्टल एन्ड ओरल हाइजिन गोष्ठी गर्ने जानकारी दिएको हो।
एसोसिएसनले माइतीघर मण्डलामा चैत ७ गते शनिबार विश्व मुख स्वास्थ्य दिवस उद्घाटन तथा जनचेतनामूलक कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म गर्ने भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख स्वास्थ्य प्रमुख स्वास्थ्य सेवा विभागका डा. प्रकाश बुढाथोकी रहने जानकारी दिइएको छ।
त्यस्तै एसोसिएसनले चैत ८ गते आइतबार होटल ऐल्लो पगोडामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अन्तर्राष्ट्रिय डेन्टल एन्ड ओरल हाइजिन गोष्ठी गर्ने भएको छ। उक्त गोष्ठी कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत रहने जनाइएको छ।
कार्यक्रममा बोल्दै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले हालसम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दन्त स्वास्थ्य क्षेत्रमा कुनै पनि कार्यक्रम नगरेको आरोप लगाए। उनले सबैभन्दा महँगो दन्त उपचारलाई कम्तीमा पनि सबै स्थानीय तहमा लैजान सकेमा मुखबाट हुने शरीरमा अन्य जटिल रोग रोक्न सक्ने बताए। उनले सरकार, प्रदेश सरकार र स्थानीय सरकार यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए।
‘धेरै मानिसले दाँत माँझे पनि सही तरिका थाहा छैन,’ उनले भने, ‘पहिला ब्रस नगर्दा समस्या थियो भने पछिल्लो समयमा ब्रस गर्न नजानेर समस्या आएको छ।’ बढी घोटीएर दाँत घोट्ने गर्दा दाँत खिइने, सिरिङ–सिरिङ हुनेजस्ता समस्या देखा परेको उनले बताए। एसोसिएनले सही तरिकाले राष्ट्रिय दाँत माझ्ने अभियान सुरु गरेको जिकिर गरे।
कार्यक्रममा बोल्दै ओरल हेल्थमा भर्खरै पिएचडी सकाएका डा. अमित कुमार साखले ओरल हेल्थ अझै नेपाली परिप्रेक्ष्यमा नौलो भएको बताए। नेपालमा दन्त स्वास्थ्यलाई अझै तल्लो स्थानमा राखेको आरोप लगाए। उनले मानिसहरुले दाँतलाई महत्व नै नदिएको जिकिर गरे।
नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनका उपमहासचिव प्रकाश गौतमले दाँत माझ्ने तरिकाबारे जानकारी दिएका थिए। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका महासचिव तथा प्रवक्ता निमा गेल्बु शेर्माले कार्यक्रम सञ्चालन गरेका थिए।











