Kathmandu Press

जनगणनामा गुगलप्लस कोडको प्रयोग गरिने

काठमाडौं, चैत्र ५ : आगामी जनगणनाका लागि गुगलप्लस कोडको प्रयोग गर्न प्रस्ताव पेश गरिएको छ । जनगणनाका लागि प्रत्येक घरधुरीको ठेगाना सजिलैसँग पत्ता लगाउन...
जनगणनामा गुगलप्लस कोडको प्रयोग गरिने

काठमाडौं, चैत्र ५ : आगामी जनगणनाका लागि गुगलप्लस कोडको प्रयोग गर्न प्रस्ताव पेश गरिएको छ । जनगणनाका लागि प्रत्येक घरधुरीको ठेगाना सजिलैसँग पत्ता लगाउन गोश्वारा हुलाक कार्यालयले राष्ट्रिय योजना आयोगलाई प्रस्ताव गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत महिना हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया पारित गर्दै यसलाई आधिकारिक ठेगानाको मान्यता दिएको थियो । कार्यविधिअनुसार हुलाकले कोडको आधारमा चिठी–पत्र तथा सामान डेलिभरी गर्न सुरु गरिसकेको कार्यालयले जनाएको छ ।

यस्तै, अहिले गुगल प्लस कोड संकलनका लागि कार्यालयबाट मौखिक आग्रह गरिएको र यसबारे छलफल जारी रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोग अन्तर्गतको केन्द्रीय तथ्यांक विभागले आगामी जेठ २५ देखि असार ८ गतेसम्म बाह्रौं जनगणना आयोजना गर्दै छ भने श्रम मन्त्रालय, भाषा आयोग लगायतका सरकारी निकायहरूले आफ्नो गुगल प्लस कोडबारे जानकारी गराइसकेको कार्यालयले जनाएको छ ।

गुगल प्लस कोड कसरी प्रयोग गर्ने ?

गुगल प्लस कोड एक निःशुल्कसेवा हो । मोबाइल प्रयागकर्ताले गुगल म्यापमा गएर सहजै कुनै पनि स्थानको प्लस कोड थाहा पाउन सक्नेछन् । गुगल म्यापमा प्लस कोड थाहा पाउन वा पत्ता लगाउन इन्टरनेट पनि आवश्यक पर्दैन ।

कार्यविधिमा गुगल प्लस कोड जेनेरेट गर्दा आफ्नो भौतिक संरचनाको प्रवेशद्वारलाई आधार मानेर गर्नुपर्ने व्यवस्था छ । एकै घरमा धेरैजना भाडामा बस्ने भएमा घरको प्रवेशद्वारलाई आफ्नो ठेगानाको आधार बनाउन सकिने कार्यविधिमा उल्लेख छ ।

यो सेवामा आबद्ध हुने सबै सार्वजनिक कार्यालयहरूले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी लेख्नुपर्ने व्यवस्था कार्यविधिमा छ । 

कार्यविधि अनुसार, कोड राखिने प्लेटलाई सबैतिर एकरूपता कायम गर्न निलो रङमा सेतो अक्षरले केही टाढाबाट पनि सहजै पढ्न सकिने गरी लेखेर राख्न सकिने व्यवस्था गरिएको छ । हुलाक वस्तुमा प्रेषकले अंकित गरेको प्लस कोड सम्बन्धित कर्मचारीले गुगल म्याप वा जीपीएस ट्रयाक गर्ने डिभाइसमार्फत स्थान पहिचान गरी घरठेगानामा वितरण गर्नुपर्ने हुन्छ । 

कार्यविधि पारित भएसँगै प्लस कोडबारे जानकारी दिन हुलाकले प्रचार सामग्री तयार गरिरहेको कार्यालयले जनाएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरुवाती चरणमा काठमाडौं उपत्यकामा परीक्षणका रूपमा सेवा सुरु गर्न निर्देशन दिएको छ ।

प्लस कोड अमेरिकी कम्पनी गुगलले सञ्चालनमा ल्याएको जीपीएस प्रणालीको लोकेसन कोड हो । सडक वा कुनै क्षेत्रको नामको आधारमा तय गरिने परम्परागत ठेगानाको तुलनामा प्लस कोड बढी प्रभावकारी मान्ने गरिन्छ । अक्षांश र देशान्तरमा आधारित यो कोड अक्षर र अंक मिलेर बनेको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्