दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : अध्यक्ष थापा
हेटौंडा, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई...
हेटौंडा, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन्।
राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष थापाले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गरे।
राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो।
अध्यक्ष थापाले राजनीतिक नेतृत्वले सत्ताको प्रतिस्पर्धालाई जनताको गाँस, बाँस र कपास, शान्ति सुरक्षाको व्यवस्थापन तथा प्रजातन्त्रको सुदृढीकरणका लागि त्याग गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा केन्द्रीय सदस्य क्रमशः मधु अधिकारी, राजाराम बर्तौला र गणेश थापाले राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सङ्गठनलाई दरिलो तुल्याउनुपर्ने तथा नेता– कार्यकर्ताले गुटबन्दीबाट अलग भई पार्टीको नीति सिद्धान्त र जनताप्रति सेवाभाव, मन, वचन तथा कर्मले लाग्नुपर्ने विश्वास व्यक्त गरे।











